उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए।
‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’
उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको समेत बताए । प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘पार्टी र भ्रातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।’
संवाददाता । शुक्रबार, असोज २६, २०८० मा प्रकाशित