सुर्खेत । २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनामा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
नेपाल भलिबल संघले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमार्पmत ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ । वि.सं. २०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो । तर, त्यसपछि लामो समयसम्म भलिबलको प्रतियोगिता हुन सकेको थिएन ।
भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लव गरी १० टोलीले प्रतिष्पर्धा गर्नेछन् । शनिवार नै संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले उक्त प्रतियोगिता व्यवस्थापनका लागि कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष ईश्वरबहादुर शाहीलाई सम्झौतापत्र हस्तान्तरण गरे ।
उपाध्यक्ष शाहीले लामो समयपछि कर्णाली प्रदेशमा भलिबलको प्रतियोगिता हुन लागेको खुसी व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले यो आयोजनाका लागि ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई राम्रो सुविधासहित खेल सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल भलिबल संघले भने सो प्रतियोगिताक लागि दुई लाख रुपैयाँ र पाँच वटा भलिबल उपलब्ध गराउने जनाएको छ ।
प्रतियोगिताको विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
विधागत उत्कृष्टले भने समान पाँच हजार पाउनेछन् । साथै पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले भूकम्पबाट क्षति भएको जिल्लाका लागि जिल्ला प्रशासन कार्यलयमा स्थापित कोषमा ५० हजार रुपैयाँ सहयोग पनि गर्ने जनाएको छ । भलिबल संघले कर्णाली प्रदेशका जिल्लाको केन्द्रबिन्दु सुर्खेतमा भलिबल खेल आयोजना गर्दै त्यस क्षेत्रमा भलिबल विकास गर्ने योजना रहेको पनि उल्लेख गरेको छ ।
संवाददाता । शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित