सुर्खेत । जारकोटमा थप तीन जना वृद्धको चिसोको कारण मृत्यु भएको छ । भूकम्पले घरमा क्षती पुराएपछि त्रीपालमूनी बस्दै आएको ३ जना वृद्धको चिसोका कारणले मृत्यु भएको हो ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी रहेका छन् ।
डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।
संवाददाता । आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित