दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा अवस्थित मालिका मन्दिर धार्मिक महत्व र प्राकृतिक सौन्दर्यताले सजिएको छ । यो दुल्लुको सबैभन्दा उच्च स्थानमा अवस्थित मन्दिर पनि हाे ।
यस मन्दिरका आफ्नै धेरै धार्मिक र सामाजिक विशेषता तथा मान्यताहरु रहेका छन् । मालिका मन्दिरमा पुजा गर्नाले इच्छाएको मनोकामना पूरा हुने विश्वास गरिन्छ । पुत्र लाभको कामनाका लागि यस मन्दिरमा टाढा–टाढाबाट भक्तजनहरु पुजा गर्न आउने गर्दछन् । लामो समय पानी नपरेर खडेरी लागेको बेला यस मन्दिरमा गएर पुजा गर्नाले पानी पर्ने धार्मीक विश्वास रहेको छ ।
मालिका माईको पुजा गर्ने दिन मालिका मन्दिरमा गएर व्रत रहेर पुजाआजा गरेमा सन्तान नहुनले मलाई सन्तान दिनु भनेर वर मागेको खण्डमा सन्तान प्राप्ती हुने । यस्तै, सम्पती नहुनेले मलाई सम्पती दिनु भनेर वर मागेपछि सम्पती मिल्ने, अनाजपानी नहुनेले मलाई अनाज उत्पादन राम्रो होस् भनेर वर मागेपछि अनाज मिल्ने तथा पढाई र नोकरी राम्रो होस्, व्यावसाय सफल होस् भन्ने वर मागेर पुजाआरधना गरेमा पढाई, नोकरी तथा व्यावसायमा सफलता मिल्ने धार्मिक विश्वास रहेको छ ।
धार्मिक महत्व र आस्थाका कारण मालिका मन्दिरलाई समग्र दैलेख र पश्चिम नेपालकै एक महत्वपूर्ण धार्मिक सम्पदाका रुपमा चिनिन्छ । बैशाख संक्राती, बैशाख औंसी, बैशाख पूर्णिमा, जेठ चण्डी पूर्णिमा, र असार जनै पूर्णिमा गरी बर्षमा पाँच पटक यस मन्दिरमा धार्मिक मेला लाग्ने गर्दछ । जनै पूर्णिमाको दिन लाग्ने मेलामा पवित्र धार्मिक तिर्थस्थल शिरस्थानबाट यस मन्दिरमा मालिका माई ल्याउने गरिन्छ ।
यो मन्दिरको धार्मिक महिमा जस्तै यहाँको प्राकृतिक बाताबरण पनि उत्तिकै मनमोहक र रमणीय छ । यस मन्दिर क्षेत्रबाट दैलेखको ८० प्रतिशत भू–भाग नियाल्न सकिन्छ । साथै छिमेकी जिल्लाहरुका केही भू–भाग र मौसम सफा भएको अवस्थामा बर्दियाका फाँटहरु समेत मालिकाबाट नियाल्न सकिन्छ ।
कसरी पुग्न सकिन्छ मालिका मन्दिर ?
यो मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट झण्डै ७० किलोमिटरको दुरीमा दैलेखको दुल्लु नगरपालिका १३ मा अवस्थित रहेको छ । यस मन्दिरसम्म पुग्नको लागि ५० किलोमिटर कालोपत्रे सडक र २० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्ने हुन्छ । यो मन्दिरसम्म पुग्ने सबैभन्दा छोटो दुरीको मार्ग वीरेन्द्रनगर–गुराँसे–माथिल्लो ढुङ्गेश्वर–बैंक बजार हुँदै मालिका पुग्ने सडक हो । माथिल्लो डुङ्गेश्वरबाट बैक बजारसम्म जाने सडक कालोपत्रेको काम भइरहेको हुँँदा पनि यस मन्दिर क्षेत्रमा हरेक सिजनमा सहजै पुग्न सकिन्छ ।
यहाँको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यताले यस मन्दिरमा पुग्ने जो कोहीको मन लोभिने गर्दछ । मन्दिरको नयाँ संरचना निमार्ण, विभिन्न प्राचिन सम्पदाको उत्खनन् र सडक विस्तार तथा सुधार भएसंगै यस मन्दिरमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
जगत सापकोटा । बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित