व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन्।
बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफ्नो आन्दोलन व्यवस्था परिवर्तनकै लागि भएको बताएका हुन्। आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै भएको उनले जिकिर गरे।
प्रसाईं समूहले बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो। शुक्रबार भने आफूहरु तीनकुनेमा बिहान ११ बजे जम्मा भएर सिंहदरबार जाने प्रसाईंले पत्रकार सम्मेलनका क्रममा जानकारी दिए। उनले व्यापारी, टिपर चालक, ट्याक्सी चालकलगायत सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरे।
बिहीबारको आन्दोलनमा हजारौँको संख्यामा सर्वसाधारणहरु उपस्थित भएका थिए। बल्खु क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणहरु नेपाली झन्डा लिएर उपस्थित भएका थिए भने कलंकीदेखि सानेपासम्म रिङरोडको सडक ठप्प पारिएको थियो।
एमाले निकट युवासंघले दुर्गा प्रसाईँको आन्दोलनसँग जुधाउन मंसिर ७ गते नै प्रदर्शन आयोजना गरेको थियो। यद्यपि प्रशासन कार्यालयहरुले यी दुई आन्दोलनका लागि बेग्लाबेग्लै स्थान तोक्नुका साथै सम्भावित मुठभेड रोक्न विशेष तयारी गरेको थियो।
युवासंघ केन्द्रित आन्दोलनका लागि तीनकुने तथा प्रसाईं नेतृत्वको आन्दोलनका लागि बल्खु क्षेत्र तोकिएपछि सम्भावित मुठभेड टरेको थियो। यद्यपि युवासंघका कार्यकर्ताहरु र्याली लिएर कालीमाटीबाट बल्खुतर्फ आएपछि प्रसाईं पक्ष र उनीहरुबीच झडपको अवस्था सिर्जना भएको थियो।
संवाददाता । बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित