कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती अन्तिम ४ मा प्रवेश गरेको हो ।
पहिलो दिन आयोजकको रातो टिमलाई हराएर शानदार सुरुआत गरेको बागमतीले दोस्रो दिन कर्णालीलाई सहजै हरायो । दोस्रो खेलमा समेत रित गौतमले ८२ रनको शानदार इनिङ्स खेलेपछि बागमतीले सहजै जित दर्ता गरेको हो । अघिल्लो खेलमा शुन्य रनमा आउट भएका इशान पाण्डेले समेत ७० रनको शानदार इनिङ्स खेले ।
रितले ५९ बलमा १० चौका र २ छक्काको मदतले ८२ रन बनाए । इशानले ३८ बलमा ४ चौका र ६ छक्काको मदतले ७० रन पुरा गरे । अन्यको प्रर्दशन खासै रहन सकेन । कर्णालीका दिनेश अधिकारीले ३ तथा दिवान पुन र अनुज चनाराले समान एक एक विकेट झारे ।
पोखरा क्रिकेट मैदानमा १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली १७ दशमलव ३ ओभरमा ९९ रनमा अलआउट भयो । कर्णालीका कप्तान रबिन्द्र शाहीले २०, अर्जुन घर्तिले २४, विपिन शाहीले २१ र दिपेन्द्र राउतले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बागमतीका सन्दीप लामिछानेले ४ तथा दिपेश श्रेष्ठले २ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुबास खत्री र इशान पाण्डेले समान एक एक विकेट लिए ।
समूह एको बागमतीले दुई खेलबाट ४ अंक जोड्यो । समान एक खेल खेलेका कर्णाली र आयोजकको रातो टिम अंक विहीन रहे ।
पोखरामा मदन भण्डारी स्पोर्टस फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो ।
संवाददाता । शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित