सुर्खेत । नेपाल प्रहरी श्रीमती संघको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहेको नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्यालयको नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरद्वारा उद्घाटन गरिएको हो । कार्यालय भवनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष कुँवरले नेपाल प्रहरी श्रीमती संघले कर्णाली प्रदेशमा छोटो समयमा महत्वपूर्ण काम गरेकोले आगामी दिनमा यस्ता कामहरुले निरन्तरता पाउँने र थप परिस्कृत तथा रचनात्मक कार्यहरु गर्दै जानेमा विश्वस्त रहेको बताउँदै संघको तर्फबाट गर्नुपर्ने हरेक सहयोग तथा सहकार्यका लागि आफुहरु तयार भएको बताईन् ।
कार्यालयको उद्घाटनमा बोल्दै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष विन्दु ढकालले नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशलाई विभिन्न कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउने सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यालयको स्थापना पश्चात थप सशक्त भएर आगामी दिनमा कार्यक्रमहरु गर्दै जाने बताईन । कर्णाली प्रदेशमा अझैपनि श्रीमती संघले थुप्रै कार्यक्रमहरु आयोजना गर्ने उदेश्य लिएकोले यसमा पनि सबैको सहयोग र सहकार्यको आवश्यकता रहेका उनको भनाई छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना र कर्णाली प्रदेश प्रहरी श्रीमती संघको समन्वयमा मंगलबार जाजारकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई राहात वितरण, बुधबार दैलेखको राउटे बस्तिमा स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण र आज विहिबार देउती बज्यै सरसफाई, मानवसेवा आश्रममा सहयोग वितरण, नेपाल पुलिस स्कुल सुर्खेतमा छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण, नेपाल प्रहरी श्रीमती संघको प्रदेश कार्यालयको उद्घाटन साथै बृक्षरोपण कार्यक्रम पनि संचालन गरिएको थियो ।
संवाददाता । बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित