सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सिर्जनशील विद्यार्थी युनियनले ९५ हजार ४ सय २० रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ । देउसीभैली खेलेको रकमबाट सिर्जनशील विद्यार्थी युनियनले अक्षयकोषको स्थापना गरेको हो ।
अक्षयकोषको रकमबाट प्रत्येक वर्ष सिर्जनशील विद्यार्थी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा एकजना उत्कृष्ट विद्यार्थीलाई “सिर्जनशील विद्यार्थी अवार्ड” र कोष वृद्धि हुँदै गएमा छात्रवृत्ति समेत प्रदान गरिने सिर्जनशील विद्यार्थी युनियनका परिकल्पनाकार दिपक उपाध्यायले कर्णाली मिडियालाई जानकारी दिए ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाकक्षमा भएको अक्षयकोष स्थापना तथा ग्य्राजुएट स्कुल अफ एजुकेशन स्नातक तह प्रथम सत्रमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सिर्जनशील विद्यार्थी युनियनका अध्यक्ष जयन्ती सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अक्षयकोष निमार्ण अभियानमा प्रत्यक्ष रुपमा संलग्न हुने ग्य्राजुएट स्कुल अफ एजुकेशनका उपप्राध्यापकद्वय कमलकुमार सिंह र लक्ष्मण सिंहलाई सिर्जनशील विद्यार्थी युनियनले सम्मान समेत गरेको छ ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफ्ना विद्यार्थीहरुले ऐतिहासिक कार्यको थालनी गरेकोमा गर्वबोध भएको बताउँदै विश्वविद्यालयले यस्ता सिर्जनशील कार्यहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै उनले सिर्जनशील विद्यार्थी युनियनले विश्वविद्यालयको गरिमा बढाउने कार्य गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल, अतिथिहरुमा विश्वविद्यालयका विभिन्न संकायका डिनहरु, विभागीय प्रमुखहरु, उपप्राध्यापक, कर्मचारीहरु साथै कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागिता रहको थियो । विद्यार्थीले कार्यक्रममा आफ्ना विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।
संवाददाता । शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित