काठमाडौं – गीतकार विपिन किरणले गजल ‘न बिर्से तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् । चर्चित गीत ‘न बिर्से तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भईरहेको थियो ।
भिडियोको विवरणमा थपिएको छ, ‘बि.सं. २०६४ मा रञ्जना म्युजिक ईन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम् ‘किरण’ भित्र समावेश यो गजल हामीले रि–रेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनु भएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।’
गीतकार विपिनले आफ्नो एल्बममा समावेश गीतको अभिलेख राख्ने क्रममा कानूनतः रि–रेकडिङ्ग गरेको गीतको राख्नु नपर्ने भन्ने भएकोले नराखिएको बताएका छन् । विवरण थप गरेपछि उनले फेसबुकमा लेखेका छन्–‘अन्यथा मेरै रचना, मेरै एल्बम अनि आफूले दुःख साथ प्रमोशन गरेर यो उचाईमा पुर्याइएका ती गजलहरुको विवरण नराख्ने भन्ने सबाल नै हुँदैन । जून बिषयमा यहाँहरुको चासोलाई सम्बोधन गर्दै सो कुरालाई हामीले गीतको विवरणमा समावेश गरिसकेका छौं ।’
अञ्जुको स्वरमा सार्वजनिक ‘नबिर्से तिमीलाई’ इतिहासको सर्वाधिक चर्चित गजल गीत मानिन्छ । अञ्जुपछि पुरुष भर्सनमा जगदिश समालले ‘नबिर्से तिमीलाई’ गाएका थिए । दुवैको स्वरमा रहेका गजललाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए । गीतकार विपिनले यो गजललाई किड्स भर्सन, मेल भर्सन साथै विभिन्न भाषामा अनुवाद गरेर समेत सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।
संवाददाता । बिहिबार, माघ २७, २०७८ मा प्रकाशित