बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए ।
मन्त्रीको सवारीबारे कुँवरले थपे, ‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो ।’
प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए । मन्त्रीलाई गाडीबाट बाहिर निकालेपछि गाडी जलाउन लागेको भन्ने कुरा आएको र त्यतिबेला घटना भएको उनले बताए । युवाहरूको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यै गर्ने अवस्थामा रहेको उनले बताए ।
गोली कतिबेला चल्यो भन्ने र कतिबेला कति जना घाइते भए भन्ने यकिन हुन नसकेको पनि कुँवरले बताए । उक्र प्रदर्शनमा २ जनाको ज्यान गएको थियो । मृतक दुई युवामध्ये १२:४० मा सुजन राउत घाइते भएको र १२:४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पुर्याएको उनले जानकारी दिए ।
ईपीएस कार्यालयमा घटना हुनसक्छ भनेर २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको उनले बताए ।
महानिरीक्षक कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा पहिला अदालतको आदेश के थियो ? ईपीएस कार्यालयको कदम के थिए भन्ने कुरा पनि हेर्नुपर्ने बताए । त्यस्तो अवस्थामा मन्त्रीको सवारी हुँदा समस्या आएको हो कि भन्ने उनको भनाइ थियो । सुरक्षाकर्मीबारे पनि त्यसपछि मात्रै भन्नुपर्ने उनको भनाइ थियो ।
पुस १३ गते शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो ।
संवाददाता । सोमबार, पुष १६, २०८० मा प्रकाशित