सुर्खेत । ललितपुर बालकुमारीमा प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडि युवाहरु भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको तस्बिर जलाएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । यसै घटनालाई लिएर सुर्खेतमा शनिबारबाट मृतकका आफन्तहरुले आन्दोलन गरिरहेका छन् । आज विहानैबाट सुर्खेतमा सरकारी सवारी साधन बन्द भएका छन् । यस्तै दिउँसोबाट आन्दोलनकारीले सुर्खेत प्रशासन अगाडि नाराबाजी आन्दोलन गर्नुका साथै मन्त्रीको तस्बिर जलाएका हुन ।
आन्दोलनकारीले पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । मृतक युवाहरूलाई शहीद घोषणा, घोषणाको माग गरेका छन् । साथै, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग छ ।
आन्दोलनकारीले आफ्ना मागहरु पुरा नभएको खण्डमा आन्दोलन थप सशक्त बनाउँने पनि बताएका छन् ।
भिडिओ हेर्नः
संवाददाता । सोमबार, पुष १६, २०८० मा प्रकाशित