उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन् ।
बुधवार ललितपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए । उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाए । ।
उनले भने ‘विशेष गरी नेपालको खेलकुद विकास, खेलाडीको उन्नति प्रगति हामी सबैको प्रयास, खेलाडीहरूको समर्पण, निष्ठा, पूर्णरुपमा आफ्नो जीवनलाई खेलमा समर्पण गरेका खेलाडीहरूलाई जसरी हामीले उत्साहित, प्रोत्साहित गर्न जरुरी छ । त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । सङ्घीय, प्रदेश, स्थानीय तहको सरकार सबैले आफ्नो तहको श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षण, उन्नति र प्रगतिको लागि त्यसतर्फ केन्द्रित गर्नुपर्ने जरुरी छ । खेलाडीहरूको उन्नति प्रगतिमा थप लगानी गर्नेछौँ । नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरू जुन गतिमा तीव्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ । त्यसैले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आज र भोलिका दिनमा हामीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ । खेलाडीहरूमा जुन ऊर्जा र उत्साह छ, जुन समर्पण छ, विशेष गरी खेलका पूर्वाधारहरू नहुँदा आवश्यक आर्थिक उपलब्धताको कमीका कारणले जति प्रगति गर्नसक्ने क्षमता हो त्यसमा अघि बढ्न सकेको छैन । हामी सबै समर्पित भएर अघि बढ्न जरुरी छ । संघ, प्रदेश र स्थानीय सरकार एकताबद्ध भएर खेलकुदको विकास र उन्नतिको लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरूको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकताबद्ध भएर अघि जानु छ ।’
उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
संवाददाता । बुधबार, माघ ०३, २०८० मा प्रकाशित