सुर्खेत । पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, लगायतले पुस्तक सार्वजनिक गरेका थिए।
सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो। पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका छन्।
‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालसँगै विश्व पत्रकारिताले बेलाबखत आफ्नो आधारभूत सिद्धान्तमा खेलबाड गरेका विषय समावेश छ।
नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्ने विषय समेत समेटिएको छ।प्रमुख अखबारका मुख–पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त उल्लेख छन् । ‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे लेखिएको छ।
पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’लाई राखिएको छ। सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा उल्लेख छ। स्थानीय पत्रिकाका पहिलो पृष्ठ (फ्रन्ट पेज) कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषणात्मक रूपमा उल्लेख गरिएको छ।
संवाददाता । शनिबार, माघ १३, २०८० मा प्रकाशित