सुर्खेत । नेपाल पुलिस स्कुल सुर्खेतले विद्यालयको पाचौं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य समस्या भोगेकालाई मुठ्ठीदान गरेको छ ।
बिहीबार नेपाल पुलिस स्कुल सुर्खेतको पाचौं बार्षिक उत्सवको अवसरमा ईच्छुक विद्यार्थी तथा विद्यालयको तर्फबाट सयुंक्त रुपमा स्वास्थ्य समस्या भोगेका नागरिकलाई मुठ्ठीदान गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं १ धारापानीका दुबै मृगौला फेल भएका रवी कुमार सुनार र विगत १५ वर्ष देखी मेरुदण्ड भाचिएर अशक्त भई थला परेका वीरेन्द्रनगर नगरपालीका वडा न १० घुस्राका कर्ण बहादुर नेपालीलाई खाद्यान्न सहयोग गरिएको हो ।नेपाल पुलिस स्कुल सुर्खेतले प्रत्येक वर्ष विद्यालयको वार्षिक उत्सवमा सामाजिक उत्तरदायित्वको काम गर्दै आएको र त्यस अन्तरगत यो वार्षिक उत्सव स्वास्थ्य पिडित नागरिकलाई खाद्यान्न सहयोग गरि मनाएका विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्नका लागि आगामी दिनहरुमा पनि विद्यालयले सामाजिक कार्यलाई निरन्तरता दिने उदेश्य लिएको छ ।
संवाददाता । बिहिबार, फागुन १०, २०८० मा प्रकाशित