सुर्खेत । सुर्खेतमा शनिबार राती भएको गोली प्रहारको घटना संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
गएराती वीरेन्द्रनगर नगरपालिका -१ गौरी चोकमा भएको गोली प्रहारको घटनाको प्रारम्भिक विवरण जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
गएराती नेपाल तरुणदल सुर्खेतका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । तर गोली गिरी सवार गाडीमा लागेको थियो । सोही घटनामा संलग्न भारतीय सुटर सहित चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरको छ । पक्राउ पर्नेमा सुटर भारतको उत्तर प्रदेशको विजनौर दादानगरगञ्ज जेसीपन मोहल्लाका १९ बर्षिया रोहित राजपुत, मोटरसाइकल चालक कैलालीको गौरीगंगा नगरपालिका -२ का १८ बर्षिया इन्द्र बिक, सोही ठाउँका १८ बर्षिया भरत भुल र सुर्खेतको वीरेन्द्रनगर ४ का राजन गिरी रहेका छन् ।
प्रहरीका अनुसार सुर्खेतका विनोद गिरीलाई मार्नको लागि शंकित व्यक्तिले भारतिय सुटर रोहित राजपुतलाई २ लाख रुपैयाँ दिने सहमती भएको र सोही सहमतीका आधारमा गिरीको हत्या गर्नको लागि भारतीय सुटर सुर्खेत आएका थिए । फागुन ७ गते सुर्खेत आएका उनीहरु वीरेन्द्रनगर ४ मा रहेको गणेश होटलमा बास बसेका थिए । सुटर राजपुत सुर्खेत आएपछि वीरेन्द्रनगर नगरपालिका -४ बस्ने बर्ष ३७ का राजन गिरीले होटलमा वस्ने व्यवस्था मिलाएका थिए ।
यस्तै, कैलालीको गौरीगंगा नगरपालिका -२ का १८ बर्षिया इन्द्र बिक, सोही ठाउँका १८ बर्षिया भरत भुललाई फागुन ९ गते शंकित व्यक्ति र एकजना अर्को (नाम थाहा नभएको व्यक्ति) ले भे.५५.६०६१ नम्बरको मोटरसाइकल दिएर योजना अुसार सुर्खेत पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शंकित व्यक्तिले सुटर लगायत सबैलाई विनोद गिरीको घर ठेगाना लगायत सबै चिनाएका थिए ।
योजना अनुसार शनिबार रातीको समयमा भारतीय सुटर सहित कैलालीबाट आएका मोटरसाइकल चालकले विनोद गिरीको गाडीलाई मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका १ गौरीचोकमा गिरीमाथी एक राउण्ड गोली प्रहार गरेका थिए । गोली गिरीको गाडीमा लागेर मोटरसाइकल र गाडी एकआपसमा ठोक्किएर दुर्घटना पनि भएको प्रहरीले जनाएको छ ।
यस घटनामा पक्राउ संलग्न ४ जनालाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको र हत्या योजना बनाउने शंकित व्यक्तिको खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।
संवाददाता । आइतबार, फागुन १३, २०८० मा प्रकाशित