काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै रङ्गहरूको पर्व मानिने फागु पूर्णिमा (होली) आजदेखि प्रारम्भ भएको छ ।
आज बिहान वसन्तपुरमा तीनतले (छत्रे) चीर ठड्याइएपछि औपचारिक रुपमा देशभर होली पर्व प्रारम्भ हो ।
उक्त चीर बिहान ७ः४७ बजेको शुभ साइतमा ठड्याइएको थियो । सो हेर्न वसन्तपुरमा विदेशी पर्यटकसमेत जम्मा भएका थिए । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ ।
नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याइ दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी र १२ गते तराई–मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
संवाददाता । आइतबार, चैत ०४, २०८० मा प्रकाशित