काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ ।
यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ ।
अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।
सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो । त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ वर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालियो ।
त्यस्तै अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण अङ्ग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे ।
जसको अर्थ मार्च महिनाको ३२ औँ दिन अर्थात अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो, तर पाठकले ३२ मार्च भन्ने बुझे ।
खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औँ दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ ।
अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ। सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक वर्ष बढ्दै गएको पाइन्छ ।
संवाददाता । सोमबार, चैत १९, २०८० मा प्रकाशित