सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदैछन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो।
सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भएको छ। वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको जनाउँदै विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, त्यसविपरीत मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छन् । कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू रहेका छन्। तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
संवाददाता । बुधबार, चैत २१, २०८० मा प्रकाशित