काठमाडौँ । फोर्ब्स म्यागेजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ।
नयाँ सूचि अनुसार २ हजार ७८१ जना पुगेको छ । जुन गत वर्षको २ हजार ६४० जना भन्दा १४१ जना बढी हो । सम्पत्ति अनुसार पनि यसपालि डलर अर्बपतिहरूको सम्पत्ति समग्रमा १४.२ ट्रिलियन डलर पुगेको छ।
यो भनेको अघिल्लो वर्षको भन्दा २ ट्रिलियन डलर बढी हो। नयाँ सूचिमा लुई भिटन तथा सेफोरा लगायतका ७५ वटा फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड अर्नाल्ड यसपालि पनि धनाढ्यहरूको सूचीको पहिलो नम्बरमै छन्।
उनीसँग २२३ बिलियन डलर छ भने १९५ बिलियन अमेरिकी डलरसहित टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्।
तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन्। यो सूचिमा नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औँ नम्बरमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर रहेको उल्लेख छ।
डलर अर्बपतिहरुको कुल सङ्ख्यामध्ये सबैभन्दा बढी ८१३ जना अमेरिकी छन् भने चीनका ४७३ र भारतका २ सय जना छन्।
संवाददाता । बुधबार, चैत २१, २०८० मा प्रकाशित