सुर्खेत । चालु आर्थिक बर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ दशमलव ३९ प्रतिशतले पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष कर्णालीको कुल गार्हस्थ्य उत्पादन तेब्बरले बढ्ने अनुमान गरिएको हो ।
कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनको मूल्यमा चालु आर्थिक बर्ष २०८०/०८१ का लागि करिब २ खर्ब ४४ अर्ब हुने अनुमान छ । कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धैरै कृषि, वन तथा मत्स्य क्षेत्रको योग्दान रहेकोे तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए । उनका अनुसार यो क्षेत्रको योग्दान २९.५१ प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशबाट प्रशासनिक सहयोग सेवा क्षेत्रको योग्दान जिडीपीमा सबैभन्दा न्यून छ । यो क्षेत्रबाट ०.१७ प्रतिशत योग्दान रहने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा पनि कुल गार्हस्थ्य उत्पादनमा कर्णालीबाट कृषि क्षेत्रकै मुख्य योग्दान रहेको थियो ।
कर्णाली प्रदेशमा क्षेत्रगत रुपमा हेर्दा चालु आर्थिक बर्ष २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धैरै २२.५२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको रहने अनुमान छ । सबैभन्दा कम निर्माण क्षेत्रको रहने अनुमान छ । यो क्षेत्रबाट मूल्य अभिवृद्धि दर ऋणात्मक हुनेछ । तथ्याङ्क कार्यालयका अनुसार यो क्षेत्रका मूल्य अभिवृद्धि माइनस ०.०२ प्रतिशत रहने अनुमान छ ।
गत आर्थिक बर्षमा भने प्रदेशको कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धेरै विद्युत क्षेत्रको र सबैभन्दा थोरै थोक तथा खुद्रा व्यापार र सवारीसाधान मर्मत क्षेत्रको रहेको थियो ।
चालु आर्थिक बर्षमा प्रक्षेपन गरिएको कुल गार्हस्थ्य उत्पादन अन्य प्रदेशको तुलनामा कर्णालीको सबैभन्दा न्युन हो । चालु आर्थिक बर्षमा सबैभन्दा बढी गण्डकी प्रदेशको जीडीपी ४.४५ प्रतिशत रहेन अनुमान गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशको ४.०५ प्रतिशत, बागमती प्रदेशको ३.९६ प्रतिशत, मधेश प्रदेशको ३.७८ प्रतिशत, कोशी प्रदेशको ३.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.४१ प्रतिशत कुल गार्हस्थ्य पुग्ने अनुमान गरिएको छ । यस्तै कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक बर्षमा समग्र नेपालको कुल गार्हस्थ्य उत्पादन भने ३.८७ प्रतिशत वृद्धि हुने अनुमान छ ।
कर्णाली प्रदेशको प्रतिव्यक्ति जिडीपी १०६६ डलर पुग्ने अनुमान
चालु आर्थिक बर्षमा कर्णाली प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ६६ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक बर्षमा कर्णालीको कुल गार्हस्थ्य उत्पादन १०३१ डलर रहेको थियो ।
चालु आर्थिक बर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको दुई हजार ४८५ डलर, गण्डकी प्रदेशको एक हजार ५५७ डलर, कोशी प्रदेशको एक हजार ३३६ डलर, लुम्बिनी प्रदेशको एक हजार १५९ डलर, सुदुरपश्चिम प्रदेशको एक हजार १११ डलर पुग्ने अनुमान छ ।
अन्य प्रदेशहरुको तुलनामा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा कम ८९२ अमेरिकी डलर रहने अनुमान छ । आर्थिक बर्षमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहेको थियो ।
जगत सापकोटा । बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित