सुर्खेत । भेरीगंगा नगरपालिकामा प्रथम किशोरकिशारी सम्मेलन सम्पन्न भएको छ । “किशोरकिशोरीमैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात”भन्ने मुल नाराकासाथ बिहिबार प्रथम किशोरकिशोरी सम्मेलन सम्पन्न भएको हो ।
भेरीगंगा नगरपालिका स्तरीय युवा क्लवको आयोजनामा, भेरीगंगा नगरपालिका संगको समन्व्य र USAID ARH परियोजनाको प्राविधिक तथा आर्थिक सहयोग र विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा यो कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको विहान समयमा प्रभात फेरी, सचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो । पालिका भित्रका १ सय ३५ जना किशोरकिशोरीको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रममा सरोकारवाला संग युवा प्यानल डिस्कसन तथा किशोरकिशोरीका विभिन्न सवालमा छलफल पनि भएको छ ।
यस सम्मेलनले पालिकामा किशोरकिशोरीका सवालहरुमा पैरवी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा सहभागि कोशोरकिशोरीले खुसी व्यक्त गरेका छन् । साथै भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
भेरीगंगा नगरपालिकामा भएको प्रथम किशोरकिशोरी सम्मेलनबाट १३ बुदे भेरीगंगा घोषणापत्र पनि जारी गरिएको छ ।
यस्तो छ १३ बुदे भेरीगंगा घोषणापत्र
१. यस भेरीगंगा नगरपालिकामा किशोरकिशोरीमैत्री नीति, युवा नीति, नियम, कार्यविधि तथा निर्देशिका आगामी आ.व.२०८१/८२ मा तयार गरि कार्यान्वयनमा ल्याउन प्रतिवद्ध छौं ।
२. कुल जनसंख्याको करिव एक तिहाई संख्या रहेको किशोरकिशोरी तथा युवाहरुमा प्रजनन स्वास्थ्य समस्या उच्च रहेकोले सोको सम्बोधन गर्न आवश्यक कार्यक्रम र बजेट यथेष्ट नरहेकोले बिभिन्न संघसंस्था र पालिकाको सहकार्यमा आवश्यक कार्यक्रम र बजेटको व्यवस्थापन गर्न प्रतिवद्ध छौं ।
३. अपाङ्ग, यौनिक तथा लैङ्गिक अल्पसंख्यक किशोरकिशोरीहरुको मानव अधिकार तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बिभिन्न संघसंस्थाको सहयोगमा आवश्यक बजेट सहितको कार्यक्रम ल्याई विकासको मूल प्रवाहिकरणमा ल्याउन प्रतिवद्ध छौं ।
४. सरकारी र नीजि स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुलाई किशोरकिशोरीमैत्री, अपाङ्गगतामैत्री, यौनिक तथा लैङ्गिक अल्पसंख्यकमैत्री बनाउन साथै विद्यालय बाहिर रहेका किशोरकिशोरीहरुलाई समेत ध्यानमा राखि विभिन्न कार्यक्रमहरु संचालन गर्नमा प्रतिवद्ध छौं ।
५. किशोरकिशोरीमा बढ्दो लागुऔषध दुव्र्यसन लगायत मानसिक रोगहरु र आत्महत्याको घटना न्यूनिकरणका लागि बिभिन्न संघसंस्थाको सहयोगमा आवश्यक बजेट सहितको लैङ्गिकमैत्री तथा व्यवहार परिवर्तन गर्न सकारात्मक सोच निर्माण गर्ने विभिन्न कार्यक्रमहरु संचालन गर्न गराउन प्रतिवद्ध छौं ।
६. किशोरकिशोरी, युवा, अपाङ्ग तथा लैङ्गिकमैत्री परिवार योजना तथा प्रजनन स्वास्थ्य सम्बन्धि उपयुक्त शिक्षा, सूचना तथा व्यवहार परिवर्तन सम्बन्धि क्रियाकलापहरु व्यापकरुपमा संचालन गर्न गराउँन प्रतिवद्ध छौं ।
७. युवाहरुको सहभागितालाई संस्थागत गर्नका लागि यस नगरपालिका युवामैत्री स्थानीय शासन लागु गर्न प्रतिवद्ध छौं ।
८. नगरपालिका स्तरमा बिभिन्न संघसंस्थाको सहयोगमा युवा सुचना केन्द्र, जलवायु परिवर्तन, सीपमूलक सिकाई केन्द्र स्थापना गर्ने र वडा स्तरमा विस्तार गर्दै लैजान प्रतिबद्ध छौं ।
९. नगरमा युवामैत्री खेलकुद तथा सिर्जनात्मक त्रियाकलाप संचालनका लागि आवश्यक सहयोग गर्न प्रतिवद्ध छौं ।
१०. हरेक आर्थिक बर्षमा किशोरकिशोरीहरुको नेतृत्व सीप विकास र सिर्जनात्मकता बढाउनका लागि बिभिन्न संघसंस्थाको सहयोग र युवा क्लवको सहजिकरणमा किशोरकिशोरी सम्मेलन गर्न प्रतिवद्ध छौं ।
११. समग्र नगर विकासमा युवाहरुको सहभागिताको सुनिश्चितता गर्नका लागि वडा स्तरीय योजना तर्जुमा, कार्यान्वय तथा अनुगमन र मुल्यांकनका प्रक्रियाहरुमा कानुन अनुसार अर्थपूर्ण सहभागिता गराउन प्रतिवद्ध छौं ।
१२. स्वस्थ र स्वच्छ नगर बनाउनका लागि वातावरणमैत्री क्रियाकलाप संचालनमा युवा क्ल्बको साथ र सहयोग लिई प्रत्येक वर्ष नगरको प्रत्येक वडामा वृक्षारोपण गर्ने, टोल सुधार समिति तथा वडा स्तरमा युवा क्लव गठन गरी युवाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउन प्रतिवद्ध छौं ।
१३. समाजमा व्याप्त रहेका हानिकारक परम्परागत अभ्यासहरु (वालविवाह, महिनावारी सम्बन्धिका हानिकारक बुझाई, बोक्सी प्रथा, छुवाछुत, लैङ्गिक विभेद तथा अन्य अन्धविश्वासहरु) का विरुद्ध युवाहरुसंग समन्वय र सहकार्य गरी विभिन्न क्रियाकलापहरु संचालन गर्ने साथै स्थानीय कलासंस्कृति तथा रीतिरिवाजहरुको संरक्षण तथा सम्बद्र्धन गर्न यूवा क्लव तथा विद्यालय स्तरमा सांस्कृतिक कार्यक्रमहरु संचालन गरी किशोरकिशोरी तथा युवाहरुलाई समाज तथा राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बनाउन प्रतिवद्ध छौं ।
संवाददाता । शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित