सुर्खेत । सहयात्रा–३ परियोजना कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा लागु भएको छ । यो परियोजनाले शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनमार्फत लागु भएको उक्त परियोजनाले जुम्ला, कालीकोट, दैलेख र जाजरकोटका केही पालिकामा काम सुरु गरेको छ । जुम्लाको तातोपानी गाउँपालिका, कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिका, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका तथा जाजरकोटको छेडागाड नगरपालिकामा परियोजना लागु भएको सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक विष्णुकुमार बमले जानकारी दिए ।
उनका अनुसार बालविकास, प्राथमिक तह उमेरका बालबालिकाहरु, विशेषगरि बालिका, यौनिक अल्पस्रख्यक, गरिबी र पिछडिएका बालबालिकाहरुको समूह, अपांगता भएका तथा किशोराअवस्थाका बालबालिकालाई लक्षित गरेर परियोजनामार्फत् कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, नगर तथा गाउँ शिक्षा समिति, बालअधिकार सञ्जाल लगायत सरोकारवाला निकाय पनि यो परियोजनाको लक्षित समूहभित्र रहेको बमले जानकारी दिए ।
ग्रामिण क्षेत्रका जोमिममा रहेका र बञ्चितिकरणमा परेका बालकिालकाहरुको शिक्षा, संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य र उत्थानशिलताको अधिकार सुरक्षित गर्दै बालबालिकाको अधिकार सुनिश्चितामा परियोजनाले भूमिका खेल्ने उनले बताए ।
बालअधिकार शासन, बाल संरक्षण, शिक्षा, जलवायु परिवर्तनसँग सम्बन्धित रहेर परियोजनामार्फत काम गरिनेछ । सहयात्रा–३ परियोजना लागु भएका जिल्लाहरुमा गैरसरकारी संस्थाहरु सोसेक नेपाल, किर्डार्क, पाँचतारा युवा संरक्षक मञ्च, भिडिसेफ लगायतसँग साझेदारी रहनेछ ।
सन् २०२४ देखि लागु भएको यो परियोजनाको अवधि पाँच बर्ष रहेको छ । यसअघि सन् २०१३ बाट सेभ द चिल्ड्रेनले कर्णालीका विभिन्न जिल्लामा सहयात्रा–१ र २ लागु गरेको थियो। अघिल्ला ति परियोजनाको सफलतापछि तेस्रो परियोजना लागु गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले बताए । सरोकार राख्ने निकाय, व्यक्ति तथा विकास साझेदार अन्य संस्थाहरुको सहयोगमा अघिल्ला दुई परियोजनामा सफलता मिलेकोले अबका दिनमा पनि सहयोग पाउने अपेक्षा राखिएको ओझाले बताए ।
संवाददाता । शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित