बिहिबार नेपाल पुलिस स्कुल सुर्खेतको ११ करोड लगानीमा निर्माण हुने विद्यालय भवनको शिलान्यास कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक अर्जुन चन्द ठकुरीद्धारा गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ जेष्ठ २७ गत्तेको निर्णयले नेपाल पुलिस स्कुल सुर्खेत संचालन गर्न स्वीकृत दिए पछि २०७५ फागुन १२ गत्ते देखि भाडाको घरमा स्थापना गरि संचालनमा आएको हो ।

शैक्षिक सत्र २०७६ सालबाट पठनपाठन सुरुवात भैरहेको विद्यालयको हाल सम्म पनि आफ्नो विद्यालय भवन नहुँदा भाडाको घरबाटै सञ्चालन भैरहेको छ ।   २०७७ माघ ०२ गत्ते वीरेन्द्रनगर नगरपालिकाको १९ औं कार्यपालिकाको निर्णय बमोजिम वीरेन्द्रनगर नगरपालिका ७ स्थित पदमलिला आधारभुत विद्यालयको जग्गा तथा भौतिक संरचना प्रयोग गर्ने अनुमति पुलिस स्कुलले पायो ।

२०८० साउन २१ गत्ते गृह मन्त्रालय सचिवस्तरको निर्णय बमोजिम वीरेन्द्रनगर नगरपालिका ५ चिसापानीमा जिल्ला प्रहरी गुल्मको नाममा रहेको ३ विगाहा ८ कट्ठा मध्ये २ विगाहा जग्गा पुलिस स्कुल सुर्खेतले भोगचलन गर्ने अधिकार प्राप्त गरे पछि आफ्नै भवन निर्माण गर्न लागेको हो ।


विद्यालयको आवश्यक संरचनाको लागि अनुमानित लागत ९३ करोड ९१ लाख १७ हजार २ सय ५० रुपैँया रहेको भएता पनि हाललाई २६ कोठे भवन निर्माणको लागि १४ करोड ८९ लाख २६ हजार ७ सय ४५ रुपैँया टेण्डर आव्हान गरिएको थियो । जसबाट ११ करोड ६५ लाख १६ हजार ४ सय ४४ रुपैँया ५७ पैँसा (भ्याट सहित) कबोल अंक सहित धनगढीको आशिष कन्सट्रक्शन कम्पनी प्रा.ली छनौट गरि काम गर्ने जिम्मा दिइएको छ ।

२०८१ अषाढ १६ गत्ते सम्झौता गरिएको पुलिस स्कुल सुर्खेतको शैक्षिक भवनको निर्माण कार्य २०८२ पौष १५ गत्ते सम्म सम्पन्न गर्नुपर्ने छ ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को सुरु सम्ममा नै निर्माण सम्पन्न हुने गरि निर्माण कार्यलाई अघि बढाउन कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक अर्जुन चन्द ठकुरीले निर्देशन समेत गरेका छन् ।
यो सम्झौताको निर्माण कार्य समापन भए लगतै अन्य आवश्यक संरचना स्वीमिङ्ग पुल, छात्राबास, क्वाटर, खेल मैदान लगाएतको निर्माण गरिने समेत उनले जनाएका छन् ।