सुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ का चैत थारुको मंगलबार बिहान मृत्यु भएको हो ।
आइतबार राति साढे सवा ८ बजे बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले थारुलाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२ का २३ वर्षीय धिरेन्द्र बुढाले चलाएका थिए ।
घटनामा चालक बुढा पनि घाइते भएका छन् । उनलाई उपचारकै क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।
घाइते थारुको उपचारकै क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए ।
उक्त सरकारी मोटरसाइकल कुन कार्यालयको नाममा थियो र कुन कर्मचारीले चलाउँथे भन्नेबारे यकिन नभएको डिएसपी विश्वकर्माले जानकारी दिए ।
‘हामीले यातायात कार्यालयलाई यसको विवरण मागेका छौं, कार्यालयबाट प्राप्त भइसकेको छैन,’ उनले भने ।
संवाददाता । मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित