काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको बताएका छन् ।
३२ औँ महानगर प्रहरी दिवसका अवसरमा काठमाडौँ महानगरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा साहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको विभिन्न देशका नगरले प्रशंसा गरेको बताएका हुन् ।
दक्षिण एसियामा नै निकै समस्याको रूपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौती देखा परेको उनले बताए । स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले प्रशंसा गरे ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नगर प्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो ।
संवाददाता । शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित