Karnali Media
२०८३ जेठ २८ , बिहीबार

एक जना मेयरले आरोप लगाउँदैमा सबै सकिन्छ भन्ने होइन : एमाले महासचिव पोखरेल



सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय संसदभित्र अराजनीतिक गतिविधि भइरहेको बताएका छन् ।

बिहीबार सुर्खेत आएका पोखरेलले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सत्ताबाट बाहिरिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अशोभनीय अभिव्यक्तिले राजनीतिमा तनावको स्थिति सिर्जना गरेको आरोप लगाए ।

उनले सत्ता परिवर्तनपछि प्रतिपक्षको भूमिकामा रहेको माओवादीले संवेदनशिलता र संसदीय मर्यादाको ख्याल नगरेको टिप्पणी गरे ।

‘प्रतिपक्षीले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै हिँड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरूरी छ,’ उनले भने ।

महासचिव पोखरेलले संविधान सुदृढ गर्नका लागि सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्ने कुरामा एमाले सकारात्मक रहेको बताए ।

पछिल्लो समय समानुपातिक प्रणालीका विषयमा शंका गर्दै भ्रम सिर्जना भएको बताउँदै उनले नेकपा एमाले समानुपातिक तथा समावेशितालाई यथावत् राखेर स्थायित्व खोज्ने पक्षमा रहेको स्पष्ट पारे ।


‘दुई वटा पार्टी मिले मात्र हुन्छ भन्ने मान्यता पनि हाम्रो होइन, यसमा पनि एक खालको भ्रम सिर्जना गरिएको छ । संविधान निर्माण र सुधारका क्रममा सबै राजनीतिक दललाई सँगसँगै लिनुपर्छ भन्ने पक्षमा एमाले र काँग्रेस छौं,’ पोखरेलले भने ।

उनले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उद्यमशिलतालाई जोड दिनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए ।

सरकारले युवाहरूलाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ बिना धितो ऋण दिने परियोजना अघि बढाएकोले युवाहरू उद्यमशिलतामा आकर्षित हुने विश्वास सरकारले लिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले सांसद रेखा शर्माको विषयमा उठाएको कुरालाई पार्टीले निर्णय नगर्ने पनि महासचिव पोखरेलले बताए ।

‘एक जना मेयरले आरोप लगाउँदैमा सबै सकिन्छ भन्ने होइन, यसमा अदालत छ, अरू निकाय छन् । उनीहरूले प्रमाणका आधारमा फैसला गर्छन्,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सांसद शर्माले घरमा बालमजदुर राखेको भन्दै कानुनी दायरामा ल्याउन आग्रहसहितको फेसबुक स्टाटस लेखेका थिए। अहिले यो विषय सामाजिक सञ्जालमा पेचिलो बनेको छ ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार