Karnali Media
२०८३ जेठ २८ , बिहीबार

एमयू स्ववियु निर्वाचन : अनेरास्ववियुको २० बुदे प्रतिवद्धता सार्वजनिक



सुर्खेत । यहि भदौ २८ गते मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २० बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, महसचिव नरेश रोकायलगायतका नेताहरुले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । अनेरास्ववियुले शिक्षामा सबैको पहुँच र निरन्तरता, गुणस्तरीय शिक्षा, परीक्षा प्रणालीमा सुधार, शैक्षिक प्रशासन सुधार, रोजगारमूलक शिक्षा लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ । गुणस्तरीय र जीवन उपयोगी अनुसन्धानमूलक शिक्षा एवं तालारहित विश्वविद्यालय लगायतका २० वटा मुद्दालाई अनेरास्ववियुले मुख्य प्राथमिकतामा राखेको छ ।


मध्यपश्चिम विश्वविद्यालय अनेरास्ववियुका तर्फबाट स्ववियुको अध्यक्षमा जगत जंग शाही, सचिव विजय कार्की, कोषाध्यक्ष सीता रोकाय तथा सदस्यहरुमा हिमानी थापा, जनक जोशी, महेन्द्र सहकारी, रमेश खत्री, टेकबहादुर मल्ल, ढाकाराम लामिछाने र लक्ष्मीप्रसाद आचार्य उम्मेदवार रहेका छन् ।

यस्ता छन् प्रतिबद्धताहरुः

१. स्ववियु संस्थालाई विद्यार्थीका समस्या समाधान गर्ने र विश्वविद्यालय सुधार बहस गर्ने तथा छलफल गर्ने थलोका रुपमा विकास गरिनेछ ।

२. तालाबन्दीको संस्कारको अन्त्य गर्दै, नियमित कक्षा संचालन, परीक्षा र नतिजा समयमै आउने वातावरण निर्माण गर्न प्रभावकारी शैक्षिक क्यालेण्डर प्रयोगमा प्रभावकारी भुमिका निर्वाह गरिनेछ ।

३. विश्वविद्यालयको अध्ययन पश्चात् बजारमा बिक्ने जनशक्ति उत्पादनको लागि परिवेश सुहाँउदो पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न पहल गरिनेछ ।

४. विश्वविद्यालयको सेवा प्रवाहलाई डिजिटल प्रविधि मार्फत सुचना तथा जानकारी लिन र नतिजा हेर्नको लागि Online Based हरेक विद्यार्थीहरुको Student ID तयार गरि सबै सुचना एकद्वार प्रणालीबाट लिन सकिने व्यवस्था मिलाइने छ ।

५. शैक्षिक गुणस्तर सुधारका लागि अतिथि शिक्षण सिकाई लगाएत डिजिटल शिक्षण सिकाईलाई प्रोत्साहन गरिनेछ ।

६. शैक्षिक विकासका लागि अत्यावश्यक मानिने पुस्तकालय, इ-पुस्तकालय, ल्याव, स्वच्छ पिउने पानी र शौचालय लगाएतको प्रबन्ध गरिनेछ ।

७. विद्यार्थीको सर्वाङिगिण विकासका लागि खेलकुद र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था गरिनेछ ।

८. हरेक स्कुल र सेमष्टरका विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, अध्ययन अवलोकन र खोज तथा अनुसन्धान गर्न देशभित्र र देश बाहिरका विश्वविद्यालयहरुसँग अन्तर विश्वविद्यालय शिक्षण सिकाई व्यवस्था गरिनेछ ।

९. विश्वविद्यालयालाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ ।

१०. व्यवहारिक उत्पादनमुखी प्राविधिक शिक्षालाई प्राथमिकता दिईनेछ ।

११. विश्वविद्यालयमा वीरेन्द्रनगर वाहिरबाट अध्ययनको लागि आउने विद्यार्थीहरुको लागि छात्र / छात्रावासको व्यवस्था गरिनेछ

१२. विश्वविद्यालयमा छात्रा स्वाथ्यलाई मध्यनजर गर्दै Vending मेसिनबाट सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाईनेछ ।

१३. विश्वविद्यालयमा विद्यार्थीको स्वास्थ्य समस्या न्यूनिकरणका लागि क्याम्पस परिसरमा स्वास्थ्य क्लिनिकको व्यवस्था गरिनेछ ।

१४. विश्वविद्यालयका संरचनालाई प्रविधिमैत्री र अपाङ्गमैत्री बनाईनेछ ।

१५. इन्जिनियरिङ्ग क्याम्पसको यातायात सुविधालाई सहुलियत र सुविधासम्पन्न बनाईनेछ ।

१६. अध्ययनरत विद्यार्थीहरुको लागि Learning by Earning र इन्टर्नसिप कार्यक्रम, उत्तीर्ण विद्यार्थीहरुका लागि रोजगारी, स्वरोजगारी र उद्यमशिलताको लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरिनेछ ।

१७. जेहेन्दार, गरिव, दलित, जनजाती र दुर्गम क्षेत्रका विद्यार्थीहरुको लागि छात्रवृती कोटा र सुविधमा वृद्धि गरिनेछ ।

१८. दक्ष जनशक्ति आपुर्तिका लागि सेवा आयोग मार्फत शिक्षक तथा कर्मचारी नियुक्ती प्रकृयामा जोड दिईनेछ ।

१९. विश्वविद्यालयका शैक्षिक, नितिगत तथा प्रशासनिक कार्यहरुलाई कानुनी र व्यवहारिक तवरले पारदर्शि तथा जवाफदेही बनाउँदै संस्थागत सुशासन कायम गराइनेछ ।

२०. विश्वविद्यालयको अध्ययन पुरा गरि विभिन्न पेशा व्यवसायमा आवद्ध पूर्व विद्यार्थीहरुको नेटवर्क (Alumni Network) स्थापना गरिनेछ ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार