सिमकोट । हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । मौसमी संक्रमणका बिरामी बढ्दा अस्पतालमा चाप बढेको अस्पतालले जनाएको छ ।
मौसमी बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने शय्या अभाव भएको चिकित्सक सुनिल पुजाराले बताए । १५ शय्याको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनले बताए ।
अस्पतालमा आइतबार मात्रै १५० जना बिरामीले उपचार गराएका छन्, जसमा सबैभन्दा बढी ज्वरोका झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायतका बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म ९० बिरामीको उपचार गरेको अस्पतालले बताएको छ । पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको पुजाराले बताए ।
सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ । रासस
संवाददाता । मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित