दैलेख । नेपालकै पहिलो स्थानीय तहको छाँया सरकार भगवतीमाई गाउँपालिका दैलेखमा गठन भएको छ । जुन ऐतिहासिक रूपमा नेपालमा यो खालको पहिलो युवा छाँया सरकारको उदाहरण हो ।
भगवतीमाई गाउँपालिका युवा क्लब संजालको आयोजनामा, भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद्को समन्वयमा र युवालय, वाम, अक्सफाम, युरोपियन युनियन र भगवतीमाई गाउँपालिकाको सहकार्य एवम् सहयोगमा मिति कार्तिक ७ गते बुधबार ‘छाँया सरकार’ गठन भएको हो ।
कार्यक्रममा युवा छाँया सरकारको अध्यक्षमा प्रदीप शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा कविता बस्नेत र प्रमुख प्रशासकीय अधिकृतमा भुपेन्द्र रेग्मी चयन भएका छन् । वडा नं. १ देखि ७ सम्मका अध्यक्षहरूमा क्रमशः चाईनिज गौतम, गोपाल शाही, मिना बि.क, प्रकाश अधिकारी, पार्वती बि.क, रविन्द्र नेपाली र शमशेर जङ्ग शाही मनोनीत भएका छन् ।
कार्यक्रमको सभाध्यक्षता भगवतीमाई गाउँपालिका स्तरीय युवा क्लब संजालका अध्यक्ष प्रदीप शर्मालेले गरेका थिए । यस्तै प्रमुख अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काको उपस्थित रहनुका साथै वडा नं. १ का अध्यक्ष इन्द्र बहादुर थापा, वडा नं. २ का अध्यक्ष दीपक रावत, वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर शाही लगायतका वडा अध्यक्षहरू, गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारी, युवालयको युथ लिड जेसि परियोजना संयोजक रन्जिता श्रेष्ठ, युवालय दैलेख जिल्ला संयोजक कल्पना हमाल, र प्रहरी चौकी बेस्तडाका इन्चार्ज विनय राना क्षेत्रीको सहभागिता रहेको थियो ।
कार्यक्रममा भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवम् युवा अभियन्ता राजेन्द्र अधिकारीले भने, “आज हामी युवाहरूले अर्को एक ऐतिहासिक माइलस्टोन पार गरेका छौं । यो सफलताको हकदार युवा परिषद्, युवा संजाल, युवा क्लब, साझेदार संस्थाहरू, पालिका सरकार र भगवतीमाई गाउँपालिका बासी सबैलाई म सम्मानपूर्वक बाँड्न चाहन्छु।”
यस कार्यक्रममा सबै वडाहरूबाट ३३ जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको सफल सञ्चालन भुपेन्द्र रेग्मीले गरेका थिए ।
संवाददाता । बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित