सुर्खेत । कर्णाली मिडियाका कार्यकारी सम्पादक जगत सापकोटामाथी सुर्खेतमा सांघातिक आक्रमण गर्ने विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ बस्ने २८ बर्षीय दिपेश गिरीविरुद्ध ज्यानमार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा शुक्रबार मुद्धा दर्ता भएको हो ।
सापकोटामाथी मंगलबार बेलुका मोक्ष थकाली रेष्टुरेण्टमा रिर्पोटिङ सकेर कफि खान भनी बसिरहेको अवस्थामा सोही होटलमा मदिरा सेवन गरिरहेका अपरीचित व्यक्तिले आक्रमण गरेका थिए । उनीसँगै भएका कर्णाली मिडियाका पत्रकार किरण रेग्मीलाई पनि ती व्यक्तिले कुटपिट गरेका थिए । रेग्मीलाई गहिरो चोट भने लागेको छैन । सापकोटामाथि बियरको बोटल र सिसाको गिलासले हिर्काउँदा उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनको टाउकोमा ५ वटा टाका लगाईएको छ ।
प्रहरीले होटलको सिसीटिभी क्यामेरामा कैद भएको भिडियो दृश्य हेरेर आक्रमण गर्ने व्यक्तिको पहिचान गरेको थियो ।
पत्रकार सापकोटा र रेग्मीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आफूमाथि भएको घटनाको विषयमा बुधार नै निवेदन दिएका थिए ।
यस घटनालाई लिएर नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर घटनाको सत्यतथ्य जाँच गरि कानुनी प्रक्रियामा जान ध्यानाकर्षण गराएको थियो ।
संवाददाता । शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित