सिमकोट, यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथीको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ ।
विसं २०४० मा निर्माण भएको उक्त झोलुङ्गे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । झोलुङ्गे पुलको दाँया तर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उहाँको भनाइ छ । पुलको बिच भागमा काठ राखिएको छ । काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन् ।
यस पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन् । झोलुङ्गे पुल मर्मत सम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन् ।
संवाददाता । मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित