सुर्खेत । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो।
जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो । प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले जानकारी दिए ।
नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो। सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन् ।
अहिले उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन् ।
कर्णाली प्रदेशमा नलगाडसहित तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख पदमा उपनिर्वाचन हुँदैछ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
संवाददाता । बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित