दैलेख । नेपाली काँग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ । बिहिबार बसेको जिल्ला कार्य समितिको संसदीय बोर्ड वैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाएको हो ।
उक्त पदका लागि जिल्ला कार्यसमितिलाई १५ जनाको नाम सिफारिस गरिएको थियो । १३ जना पुरुष र २ जना महिलाको नाम जिल्लामा सिफारिस गरिएको थियो ।
१५ जनामध्येबाट भण्डारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले जानकारी दिए । २०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरुङको निधन भएको थियो । उनी पनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए ।
कर्णाली प्रदेशमा तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
यस्तै दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
संवाददाता । बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित