सुर्खेत । सुर्खेतमा विहीबार बृहत साँगीतिक कार्यक्रम गरिएको छ । किशोर किशोरी तथा युवाका क्षेत्रमा क्रियाशिल संस्था युवालयले सुर्खेतको सिटीहलमा बृहत सांँगीतिक कार्यक्रम गरेको हो ।
युवालय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखा सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रम कर्णालीका मौलिक तथा संस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । ‘युवासँगको हाम्रो सहयात्रा’ परियोजनामा आबद्ध भएर सांगीतिक कक्षा लिएका किशोर÷किशोरीहरुले सांगीतिक प्रस्तुति देखाएका हुन् ।
झण्डै एक हजार दर्शक सहभागी सांगीतिक कार्यक्रममा विभिन्न १७ वटा प्रस्तुति प्रदर्शन गरिएको छ । जसमा थारु समुदायको नृत्य, कर्णालीको मौलिक संस्कृति देउडा, हुड्के, मारुनी, झ्याउरे, कौडा, टप्पा र लोकगीत नृत्यसहित कोरियन नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
स्थानीयस्तरमा रहेका मौलिक तथा लोक संस्कृतिको जगेर्ना गर्दै युवाहरुलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले सांगीतिक कार्यक्रम गरिएको युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले जानकारी दिए । सांगीतिक कार्यक्रमले युवा पुस्ताहरुमा हाम्रा मौलिक संस्कृतिहरु पुस्तान्तरण हुने र आयआर्जनमा समेत सघाउन पुग्ने युवालयको अपेक्षा छ ।
युवालयले कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाका पालिकाहरुमा युवा विकास गतिविधि गर्दै आएको छ । युवासँगको हाम्रो सहयात्रा परियोजनाले कर्णाली प्रदेशको दैलेखको भगवतीमाई गाउँपािलका र डुङ्गेश्वर गाउँपालिका, सुर्खेतकोको वीरेन्द्रनगर नगरपालिकामा युवलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशको लम्कीचुँहा नगरपालिकामा पनि युवालयको यो कार्यक्रम लागू छ ।
संवाददाता । बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित