सुर्खेत । अपांगता भएकाहरुको प्रजनन तथा सुरक्षित मातृत्व सेवालाई लक्षित गर्दै बनेको अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकालाई स्थानीयकरण गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल नेत्रहीन संघ सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा भएको संवाद कार्यक्रममा सहभागी सरोकारवाला तथा अपाङ्गता भएकाहरुले निर्देशिकालाई स्थानीयकरण गरेर पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। नेपाल नेत्रहीन संघका महासचिव कलाधर भण्डारीले निर्देशिकामा व्यवस्था गरिएअनुसार अपाङ्गता भएक व्यक्तिलाई निशुल्क स्वास्थ्य बीमा, औषधि लगायतको सहज उपलब्धताका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भौतिक पूर्वाधार तथा भवन संरचनामा अपाङ्गता भएका व्यक्तिको पहुँच अनिवार्य भएकाले भवन निर्माण आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्ने उल्लेख गरे। यस्ता संरचना निर्माणमा सबै तहका सरकारको ध्यान जानुपर्ने उनको भनाई थियो । अपाङ्गगताको प्रकारअनुसार त्यस्ता व्यक्तिलाई औषधि उपचारमा छुट हुने भनिएपनि उत्कृष्ट भनिएका अस्पताललले यसलाई कार्यान्वयन नगरेको सरोकारवालाहरुले गुनासो गरेका छन्। यस्तै अपाङ्गता भएकाहरुलाई सहज सेवा, पहुँच लगायतका विषयमा स्वास्थ्यकर्मीलाई नै आवश्यक तालिम दिनुपर्नेमा उनीहरुको जोड छ ।
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अपाङ्गतामैत्री स्वास्थ्य सेवाको विषयमा तालिन दिनु जरुरी रहेको सरोकारवालाले बताए। यसैगरी ठूला अस्पतालहरुमा दोभाषेको व्यवस्था गर्नुपर्ने, निशुल्क, औषधि तथा स्वास्थ्य बीमा गर्नुपर्ने माग सरोकारवालाको थियो ।
संवाददाता । बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित