दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा अझै बाँकी रहेका सामाजिक हानिकारक प्रथाविरुद्ध सबै एकजुट हुन सरकारी र गैरसरकारी क्षेत्रमा क्रियाशीलहरूलाई सरोकारवालाले आव्हान गरेका छन् ।
मौलिक कला र संस्कृति संरक्षण, पुस्तान्तरण तथा सामाजिक हानिकारक प्रथाविरुद्ध सचेतिकरण गर्न डुङ्गेश्वर गाउँपालिका, ४ नम्बर वडास्थित रंगशालामा शनिबार आयोजित बृहत् सांगीतिक कार्यक्रममार्फत् यस्तो आव्हान गरिएको हो ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले समाजमा अझै पनि विभिन्न प्रकारका हानिकारक प्रथा बाँकी नै रहेको बताउँदै यसको विरुद्ध अभियान चलाउने जिम्मेवारी सबै सचेत वर्गको भएको बताए ।
यसैगरी, कलाकार तिर्थ भण्डारी र सुर्जा रावलले आफ्नो प्रस्तुतिमार्फत् समाजमा रहेका सबै प्रकारका हानिकारक प्रथा अन्त्यको लागि आवाज उठाएका थिए ।
सारङ्गी कला, देउडा, पैंसेरी, झ्याउरे, टप्पा, राइसुवा, स्थानीय भैलो, स्थानीय गर्रा, बाँसुरी कला, पञ्चेबाजा नृत्य, लोक गीत र नृत्य तथा कोरियन पप डान्सलगायत सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको छ ।
डुङ्गेश्वर गाउँपालिकासँगको समन्वयमा वाइजी इन्टरटेइमेन्ट कोरिया, अक्सफार्म कोरिया र अक्सफार्म नेपालको साझेदारीमा युवालय र डुङ्गेश्वर गाउँ युवा परिषद्ले कार्यक्रम आयोजना गरेका हुन् ।
संवाददाता । शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित