लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा युवाहरुलाई अभिमुखिकरण गरिएको छ ।
युवालयद्धारा सञ्चालित युवासँगको हाम्रो सहयात्रा परियोजना अन्तर्गत संगित तथा कम्प्युटर कक्षामा सहभागी ३२ युवाहरुलाई लैङ्गिक हिंसा विरुद्ध युवाको भुमिकाको विषयमा जानकारी दिन शनिवार वीरेन्द्रनगरमा कार्यक्रम गरिएको हो ।
“हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्धता” “बलियो कानुन र चेतना विकास, महिला हिंसा अन्त्यको आधार” “प्रेममा समानता, परिवारमा सम्मान” जस्ता नारा लगाउदै उनीहरुले कार्यक्रमको शुरुवातमा मंगलगढिबाट र्याली लिएर पिपल चौतारा सम्म र्याली सहित पुगेका थिए ।
र्यालीको समापन पछि सामुहिक तस्विर लिदै उनीहरुले वीरेन्द्रनगरको नमस्ते नेपालमा गएर कार्यक्रममा सहभागि भएका हुन् । कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले गरेका थिए । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा मात्रै नभएर सधै यस्ता आवाज उठाइ रहनुपर्नेमा जोड् दिए । यस्ता संवेदशिल विषयमा युवाहरुले कसरी काम गर्न सक्छन्? लैङ्गिक हिंसा न्युनिकरणमा युवाको भुमिका के हुन्छ? मानवअधिकार, मौलिक हक? र लैङ्गिक संवेदशिलताका सवालमा पनि युवाहरुलाई जानकारी गराएका थिए ।
युवाहरूलाई समाजमा भएका विभिन्न सवालमा उत्सुकता जगाउने, युवाहरूका मुद्धालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र युवालाइ सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने गैह्र सरकारी संस्था युवालय भएको परियोजनाका मिडिया कम्युनिकेशन अफिसर सिर्जना बुढाथोकीले जानकारी दिइन् । “युवाहरुलाई विकास गतिविधि र मुद्धाहरूलाई युवालयले प्रमुख दायित्वका रुपमा लिएर अगाडी बढिरहेको छ”, उनले भनिन्, “लैङ्गिक हिंसा जस्ता संवेदशिल विषयमा युवाहरुले जानकारी राख्न र वकालत गर्न सक्नुपर्छ।” उनले पहिले देखि समाजमा रहि आएका कुप्रथा जस्ता सवाललाई अबको पुस्ताले नै न्युनिकरण गर्न सक्नेमा जोड् दिइन् ।
युवासँगको हाम्रो सहयात्रा परियोजनालाई कोरियाको YG Entertanment को आर्थिक एवंम OXFAM को प्राविधिक सहयोग रहेको छ ।
संवाददाता । शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित