सुर्खेत । कर्णाली प्रदेश लागुऔषध दुर्व्यसनी तथा मानव बेचविखन ओसारपसार चुनौती बन्दै गएको सरोकारवालाहरुले बताएका छन ।
आइतबार एइआइएन र पिपल इन निड को आर्थिक सहयोगमा सोसेक नेपालद्वारा संचालित बिहानि तथा सुरक्षा र न्याय परियोजनाद्वारा सञ्चालित लागूपदार्थ दुव्र्यसनी, बालविवाह, बालश्रम, मानव बेचविखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा सम्बन्धी प्रदेश स्तरीय कार्यशालामा सहभागीले यस्तो बताएका हुन ।
उनीहरुले कर्णाली प्रदेशमा रहेका विभिन्न सामाजिक समस्याहरुको न्यूनिकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरिएका छन । कर्णाली प्रदेशमा बालविवाह, बालश्रम, लागुऔषध दुर्व्यसनी तथा मानव बेचविखन नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायले कामगर्दै आएपनि सोचेअनुसारको प्रगति हुन नसकेको उनीहरले बताएका छन ।
कर्णाली प्रदेशमा अझैपनि लैङ्गिक हिंसा, लागूऔषध दूव्र्यसनी, बालविवाह लगायतका सामाजिक समस्याहरु बढ्दै गएको र यसको न्यूनिकरणमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन ।
उनीहरुले कर्णालीको राजधानी वीरेन्द्रनगर अहिले लागुऔषध दुर्व्यसनीको हटस्पोट बनेको भन्दै यस्लाइ रोक्नु पर्नेमा सरकारको ध्यानआकर्षण गराएका छन । यसैबीच कर्णाली प्रदेश बालश्र तथा मानब बेचविखनको चपेटमा परेको बताएका छन। विषेश गरेर कर्णालीका ग्रामिण क्षेत्रका नागरिकहरु विभिन्न प्रलोभनमा फस्ने गरेको छन ।
कार्यक्रममा सहभागीहरुलाई कार्यक्रमको उदेश्यबारे सोसेक नेपालका परियोजना संयोजक माया अधिकारीले प्रस्ट प्रकाश पार्नुभयो । यस्तै कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कर्ण ओलीले कर्णालीमा घरेलु हिंसा, जवरजस्ती करणी, लैङ्गिक हिंसा, आत्महत्या र बालविवाह जस्ता सामाजिक समस्याहरु व्यप्त रहेको र प्रहरीमा पनि सोही प्रकारका घटनाहरु धेरै आउने बताउनुभयो ।
उहाँले सामाजिक समस्याको न्यूनिकरण गर्न कर्णाली प्रदेश प्रहरीले प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारी बनाएको बताउनुभयो । कर्णाली प्रदेशमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ८ सय ४२ वटा समितीहरु बनाएर सामाजिक समस्याहरुलाई न्यूनिकरण गर्न समुदाय स्तरबाट सचेतना फैलाएको र लागूऔषधको न्यूनिकरणका लागि पनि लालटिन अभियान संचालन गरिएको बताउनुभयो ।
यसैबीच कार्यक्रमलाई सम्बोधनगर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा लागूपदार्थ दुव्र्यसनी न्यूनीकरणका लागि पुर्नस्थापना केन्द्र सञ्चालन गरिने बतानुभएको छ ।
मन्त्री भण्डारीले कर्णालीमा बढ्दो लागूपदार्थ सेवनकर्ताका लागि पुर्नस्थापना केन्द्र सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवियताको आधारमा व्यवहार गर्नुपर्ने सुझाँव दिनुभयो ।
कार्यक्रममा जुम्लाको चन्दननाथ नगरपालिका, सुर्खेतको भेरिगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख, महिला शाखाका प्रमुख, एकद्वार संकट ब्यवस्थापन केन्द्र जुम्ला, सुर्खेत, प्रदेश प्रहरी, जिल्ला प्रहरी, महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रमुख, नगर बाल सञ्जाल लगायतका व्यक्तिहरुको सहभागीतामा सामाजिक सवालमा तथ्याङ्कसहित प्रस्तुतीकरण थियो ।
सहभागीहरुले कर्णालीमा भएका सामाजिक समस्या र त्यसमा आफुहरुले निभाउन सक्ने भूमिकाका विषयमा समेत प्रतिवद्धता जनाएका थिए ।
सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगी लगायतका कर्णालीक विभिन्न पालिकाका उपप्रमुखहरु र विभिन्न सामाजिक संस्था प्रतिनिधिको सहभागिता रहेको थियो ।
संवाददाता । आइतबार, पुष ०७, २०८१ मा प्रकाशित