सुर्खेत । सुर्खेतमा चार दिनसम्म फुड फेस्टिभल हुने भएको छ। सुर्खेतस्थित शुभ होटलले शनिबारदेखि पुस १६ गतेसम्म फुड फेस्टिभल गर्ने शुक्रबार जानकारी दिएको हो।
शुभ होटल प्रा.लिका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फेस्टिभलमा स्थानीय रैथानेबालीका विभिन्न परिकार प्रदर्शनी गरिनेछ ।
स्थानीय रैथाने बाली प्रवर्द्धन गराउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा ४८ वटा स्टल रहने होटल संचालक तथा कर्णाली प्रदेश उद्योग वाणिाज्य संघ अध्यक्ष पदमबहादुर शाहीले बताए । उनका अनुसार कर्णालीका कृषकका विभिन्न उत्पादन प्रदर्शनीमा राखिने छन् । जसमा साना किसान तथा व्यवसायीका लागि १५ वटा स्टलको व्यवस्थापन गरिएको छ। हुड्केलगायत परम्परागत सांस्कृतिक प्रस्तुति समेत रहेको उनले बताए।
उद्योग व्यवसायी र कृषकको हितका लागि कर्णालीको उद्योग, पर्यटन मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री र सचिवसहितको टोलीसँग अन्तक्रिया कार्यक्रम पनि गरिने उनले बताए।
साथै फुड फेस्टिभलको अन्तिम दिन १६ गते अंग्रजी नयाँ बर्षका अवसरमा सांगीतिक साँझ हुने र उक्त साँझमा प्रवेश शुल्क लाग्ने बताइएको छ।
संवाददाता । शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित