काठमाडौं । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले तिब्बती क्षेत्रमा हालसम्म ९ जनाको मृत्यु भएको थाहा भएको जनाएको छ । ६ दशमलव ८ म्याग्निट्यूडको भूकम्पले तिब्बतको सिगात्से सहरका भवनहरूलाई भत्काएको छ भने मानिसहरू भागेर सडकमा निस्किएका थिए । सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा लात्से नगर नजिकै पसलहरू भत्किएको देख्न सकिन्छ ।
भूकम्पको धक्का ४०० किलोमिटर पर अवस्थित नेपालको राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो भने भारतको उत्तरी राज्य बिहारमा पनि कम्पन महसुस गरिएका थिए । त्यसैगरी भुटानको राजनधानी थिम्पूमा पनि भूकम्पको धक्का अनुभव गरिएको बताइएको छ ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको म्याग्निट्यूड ७ दशमलव १ भएको र गहिराइ १० किलोमिटर रहेको जनाएको छ ।
नेपाली समय अनुसार बिहान ६ः५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जन भन्दा बढी भूकम्पहरू गएको अभिलेख गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन् । भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएका विवरण आएका छन् ।
दक्षिण पश्चिम चीनमा बारम्बार भूकम्पको प्रभाव देखा पर्ने गर्छ । सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७० हजार जनाको ज्यान लिएको थियो । बीबीसी
संवाददाता । मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित