काठमाडौँ। आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुनेछ ।
नेपालको कप्तानमा पूजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् । नेपालले पहिलो बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई आजको खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ ।
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जितनजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलो पटक हो । यसअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराए पनि नेपाल सुपर सिक्समा पुग्नेछ ।
स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ । अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।
संवाददाता । बुधबार, माघ ०९, २०८१ मा प्रकाशित