सुर्खेत । कर्णाली प्रदेशमा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्लेईङ्ग फर चेन्जको आयोजनामा बुधबार र विहिबार सुर्खेतमा तेक्वादो प्रतियोगिता हुँदैछ ।
पहिलो पटक कर्णालीमा सेन्सर प्रविधीको प्रयोग गरि हुन लागेको तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरु सहभागि हुने आयोजक संस्था प्लेईङ्ग फर चेन्जका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । सहिद दिवसको अवसरमा दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीको तयारीमा सघाउ पुराउने उदेश्यले तेक्वान्दो प्रतियोगिता गरिएको उनको भनाई छ ।
कर्णाली प्रदेश रङ्गशालामा हुने तेक्वान्दो प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नेछन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, तेक्वान्दो संघ कर्णाली प्रदेशको समन्वय र प्लेईङ्ग फर चेन्जको आयोजनामा हुने प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने बताईएको छ ।
संवाददाता । मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित