काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७४औं जन्मदिन मनाउँदैछन् । तर, यसपटक गत वर्षजस्तो औपचारिक कार्यक्रम नराखिएको ओलीले जनाएका छन् ।
आजबाट सुरु हुन लागेको केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स जान लागेका उनले त्यहीँ शुभकामना साटासाट गर्ने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।
त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै नेकपा एमालेको नेतृत्व गरिरहेका छन् । ०७८ मंसिरमा भएको दशौं महािधवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् ।
संवाददाता । आइतबार, फागुन ११, २०८१ मा प्रकाशित