वीरेन्द्रनगर । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आधिकारिक डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ। आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले एफएनजे सुर्खेत डट अर्ग नामक वेबसाइटको शुभारम्भ गरेकी हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले वेबसाइट शुभारम्भसँगै जवाफदेही र पारदर्शी पत्रकारिता अभियान अघि बढेको बताइन्। महासंघको कार्ययोजना अनुसार वेबसाइट निर्माण गर्ने सुर्खेत पहिलो शाखा भएको उल्लेख गर्दै उनले यसले सदस्य शुद्धीकरणमा देखिएको विवाद समाधान गर्न सहयोग पुग्ने धारणा राखिन्।
महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले वेबसाइटले महासंघका गतिविधिहरू पारदर्शी बनाउने उल्लेख गर्दै यसमार्फत आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकिने बताए। साथै, उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि भइरहेको हमलाबारे चिन्ता व्यक्त गर्दै, संघीय सरकारले प्रस्तावित सामाजिक सञ्जाल नियमन विधेयक प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने गरी ल्याउन नहुने स्पष्ट पारे।
उनले प्रदेश र स्थानीय तहका कतिपय कानुनहरू पनि प्रेसमैत्री नभएको बताउँदै, मिडियामाथि बढ्दो संकटले लोकतन्त्र नै जोखिममा पर्न सक्ने चेतावनी दिए। श्रमजीवी पत्रकारहरूको हकहितका लागि महासंघले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान सुरु गरिसकेको पनि दाहालले जानकारी गराए।

महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कार्ययोजनाअनुसार वेबसाइट निर्माण गरिएको उल्लेख गर्दै आगामी दिनमा महासंघलाई श्रमजीवी पत्रकारको हकहितमा वकालत गर्ने संस्था बनाउन थप योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
संवाददाता । आइतबार, चैत ०३, २०८१ मा प्रकाशित