काठमाडौँ । नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो ।
विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरु सम्प्रेषण भएकाले नेपाली सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संवाददाता । बुधबार, चैत ०६, २०८१ मा प्रकाशित