काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष दाहालले भने ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ । उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’
उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए । सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको बताए ।
आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको बताए ।
संवाददाता । शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित