सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका शिक्षासँग सरोकार राख्ने सरोकारवाला र जनप्रतिधिहरुले पालिकाको शिक्षामा गुणस्तरीयता वृद्धि गर्न १६ बुँदे प्रतिबद्धता जनाएका छन्। सेभ द चिल्ड्रेन र सोसेक नेपालसँगको सहकार्यमा कर्णाली शिक्षा पत्रकार समूहलेअबुधबार भएको शैक्षिक संवादमा उनीहरुले पालिकाको शिक्षा सुधारका लागि प्रतिबद्धता जाहेर गरेका हुन्।
नगरपालिकाका शिक्षा ऐन तथा नगर शिक्षा नियमावली, २०७९ लाइ पूर्ण कार्यान्वयन गर्ने, आवश्यकता परेको खवस्थामा संशोधन गर्ने, शिक्षको पेशागत विकासका लागि बार्षिक बजेटमा योजना समावेश गर्ने, समयमै विद्यालय सुधरा योजना बनाएर कार्यान्वयन गर्ने, उत्कृष्ट विद्यालयलाई अनुदान उपलब्ध गराउने, सामाजिक परीक्षणका सूचकअनुसार भए/नभएको अनुगमन गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएका छन्।

सबै विद्यालयमा छात्र र छात्राका लागि शौचालय निर्माण, मर्मतको लागि पहल गर्ने, विद्यालयमा सुरक्षित खानेपानी उपलब्धताका लागि नियमित पहल गर्ने, प्रत्येक विद्यालयमा गुनासो सुनुवाई तथा व्यवस्थापन प्रणालीलाई निरन्तर गर्ने, प्रारम्भिक बालविकासका लागि छुट्टै शिक्षक, सिकाइ सामग्री, स्रोत व्यवस्थापन गर्ने,विद्यालयका संरचनाहरुलाई सुरक्षित, छात्रछात्रामैत्री तथा अपांगतामैत्री बनाउनका लागि निरन्तर लाग्ने, सिकाइ आपूरण तथा दू्रत सिकाइ योजना पूर्ण कार्यान्वयन गर्ने, विद्यालय तहको समग्र सिकाइ उपलब्धिलाई विश्लेषण गरी सिकाइ उपलब्धि न्युन भएका विद्यालयलाइ प्राथमिकतामा राखेर ठोस काम गर्ने प्रतिबद्धता जनाईएको छ।
यस्तै विद्यालयमा हरित विद्यालय कार्यक्रम निरन्तर सञ्चालन गर्ने, नगरपालिकामा उत्पन्न स्यानिटरी प्याडको मुद्दा समाधान गरी यसै शैक्षिक सत्रबाट विद्यालयहरुमा नियमित आपूर्ति तथा वितरण गर्ने, नगरपालिका भित्रको शिक्षालाई गुणस्तरीय, समावेशी र पहुँचयोग्य बनाउन निरन्तर सहकार्य र समन्वय गर्ने, कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएका छन्।
संवाददाता । शनिबार, चैत ०९, २०८१ मा प्रकाशित