सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको अपेक्षा अनुसार काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१।०८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले लेखिएका कानूनी कुरामात्रै देखाएर काम रोक्ने ढिलाई गर्ने वा रोक्ने काम गर्न नहुने बताए ।
जनताको अपेक्षा सहित स्वच्छ नियत राखेर गरिएका कामहरू सञ्चालनका लागि सहयोग सबैले सहयोग गर्नुपर्ने बताए । जनप्रतिनिधिहरु कहिले कहीँ अवसर पाउने हुदाँ पाएको अवसरलाई गम्भीरतापूर्वक लिनु पर्ने र आफ्नो योग्यता, क्षमता र दक्षता देखाउन नसके दिन बिताउने काम मात्र हुने कुरा तर्फ सचेत हुने विभागीय मन्त्रीलाई मुख्यमन्त्री कँडेलले सुझाव दिए । मन्त्रालयको कार्यक्षेत्र र योजनाको प्रकृति अनुरूप जिल्ला र क्षेत्रका आधारमा सन्तुलन कायम गरेर योजना निर्माण गर्दा उपलब्धी र कार्यसम्पादनमा फड्को मार्न सकिने बताए । विगतको समयमा योजना बनाउदा पुर्व तयारीमा ध्यान नदिदा योजनाको कार्यान्वयन समस्या देखिएको हुदा यसमा आगामी दिनमा ध्यान दिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

आर्थिक अनुशासन कायम गर्ने निकायको रूपमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट कार्यान्वयन गर्न र समयमा भुक्तानी निर्माण व्यवसायीलाई बोलाएर दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए । आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको हुँदा तदारूकताका साथ काम गर्नुपर्ने उल्लेख गरे ।
जनताको पहलकदमी र सक्रियता बढाएपनि माग गरेबमोजिम योजना छनोट नहुने भएकोले सोही अनुसारको मनोभावना सिर्जना गर्न आवश्यक रहेको बताए । यसका लागि सरोकार राख्ने कार्यालयले जनतालाई बुझाउनुपर्ने बताए ।
संवाददाता । आइतबार, चैत १०, २०८१ मा प्रकाशित