काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका छन् ।
मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरू सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका हुन् ।
उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अलमलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफू बाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ । त्यस्ता कुरामा म धेरै अलमलिन चाहन्न । हामीले देशको विकास गर्नुपर्नेछ । अनावश्यक कुरामा हामीलाई अलमल्याउन खोज्छन् । अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन्, त्यो हुन हामी तयार छैनौँ । हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ । र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ ।’
प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको बताए । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए ।
संवाददाता । मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित