Karnali Media
२०८३ असार १५ , सोमबार

देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग विगतमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो।


‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि राम्रो छ,’ सभापति देउवाले भने, ‘प्रधानमन्त्रीलाई काँग्रेसको तर्फबाट पूरा साथ सहयोग छ।’

काँग्रेस र एमालेबीच असार १७ गते ७ बुँदे सहमतिका आधारमा ओली असार ३० गते प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीलाई भविष्यमा पनि साथ रहने उनको भनाइ थियो।

फरक प्रसंगमा सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकालेपछि विगतमा आफूले अर्को पार्टी खोलेको पनि बताए। देउवाले काँग्रेस (प्रजातान्त्रिक) पार्टी खोले पनि केही वर्षमै नेपाली काँग्रेसमा मिसाएका थिए।

प्रकाशित मिति : २०८१ चैत १२ गते मंगलबार